आगामी उपनिर्वाचनबाटै माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छः अध्यक्ष दाहाल — OSNepal

आगामी उपनिर्वाचनबाटै माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छः अध्यक्ष दाहाल

LC (KTM) October 05, 2024 0

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को आमनिर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उहाँले देशव्यापी रुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुआत आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । अध्यक्ष दाहालले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानले पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको र त्यसैको बलमा आगामी निर्वाचनमा जनमतबाट पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले जनताको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनपरिचालनसँग जोडेर अगाडि बढ्न पार्टीपङ्क्तिलाई अपिल गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जित सङ्कट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रहसमेत गर्नुभयो । “जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन । बाढीपहिरोका कारण सिर्जना भएको सङ्कट समाधानका लागि हाम्रो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ । त्यसैले मुलुक र जनताको पक्षमा काम गर्नु पनि एकप्रकारको आन्दोलन नै हो । यसमा सबैले सक्दो सहयोग गरौँ”, उहाँले भन्नुभयो,“जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको छ । भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा हामीले सत्तापक्ष र विपक्षको आँखाले कहिल्यै हेरेनौँ । अहिले पनि त्यही आवश्यकता छ ।”

कार्यक्रममा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर