‘बाढीपहिरोबाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड’ — OSNepal

‘बाढीपहिरोबाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड’

LC (KTM) October 05, 2024 0

जनकपुर (धनुषा), १९ असोजः नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले अतिवृष्टि तथा अनावृष्टि भई बाढीपहिरो जस्ता मनसुनजन्य विपद् हुनुको प्रमुख कारक चुरे पर्वतको विनाश रहेको बताउनुभएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूह धनुषाद्वारा जनकपुरधाममा आयोजित ‘बाढ–विपद् आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको यादवले प्रत्येक वर्ष आउने बाढी तथा पहिरोको प्रमुख करण चुरे पर्वत विनाश भएकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।

“प्रत्येक वर्ष बाढी आउँछ, यस वर्ष अरु वर्षको तुलना बढी क्षति पु¥याएको छ”, संसदीय दलका नेता यादवले भन्नुभयो, “अब सबै मिलेर खाली जमिनमा वृक्षारोपण गर्ने, चुरे पर्वतको संरक्षण गर्ने, अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्नेलगायत काम गरेर बाढीपहिरो जस्ता विपद्बाट बच्न सक्छौँ । मनसुनजन्य विपद्का समस्या चुरेको विनाशले नै भएको हो ।”

पूर्वमन्त्रीसमते रहनुभएका नेता यादवले सङ्घीयतापछि भएको प्रदेशहरुको सीमाङ्कनमा कमी रहेको औँलयाउँदै प्रदेशको विभाजन गर्दा पहाड र तराईका जिल्ला समेटेर गर्नुपर्नेमा जोड दिनुभयो । आफू सङ्घीय सांसद रहेको बेला चुरे क्षेत्रको अनुगमन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “राजमार्ग छेउमा रहेका अधिकांश वनजङ्गल अतिक्रमण गरी बस्ती बसालिएका छन्, रूखबिरुवा कम हुँदै गएका छन्, यसले विनाश निम्ताइरहेको छ ।”

नेता यादवले चुरिया पर्वतमा हराभरा खेती भइरहेको भन्दै यस्ता अतिक्रमण तत्काल हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नदीको प्राकृतिक स्वरुप बिग्रने गरी गरिएको अवैध उत्खननले चुरे क्षेत्रको क्षति हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता यादवले नेपाल भारत सीमा क्षेत्रको सुरक्षाका लागि दुवै देशका सरकार, सरोकार भएका निकाय, नागरिक समाज तथा अभियन्ताले सहकार्य र समन्वय गर्दै चुरे समस्याको समाधान गर्न नीतिगत रुपमा योजनाबद्ध काम गर्नुपर्न उल्लेख गर्नुभयो ।

नेपाल भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले बाढीको समस्या र नेपाल भारतबीचको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालबाट बग्ने छ हजारभन्दा बढी नदीनाला उत्तर भारतसम्म पुग्ने गरेका र सुक्खायाममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान नेपालका नदीनालाले दिने गरेको उक्त कार्यपत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष झाले चुरे दोहनका कारण पहाडमा अधिक वर्षा हुने गरेको भन्दै पानीको अत्यधिक चाप अनियन्त्रित भई बाढीपहिरो जस्ता विपद् आउने गरेका बताउनुभयो । बर्खायामभन्दा पहिले बाढी नियन्त्रणका लागि संयुक्त रुपमा काम गर्न भारत सरकारसँग समन्वय गर्न उहाँले नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्राले प्राकृतिक स्रोतसाधनको अवैध दोहनका कारण यस्ता विपद् आउने गरेका बताउनुभयो । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले राजनीतिक दल एकजुट भई नदी दोहन, अव्यवस्ति बस्ती तथा सडक विस्तार रोक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, जनकपुधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साह, शिक्षक सत्रुधन साह, सञ्जय सिंह, विनोद ठाकुर, सन्तोषलाल कर्ण, प्रा डा वीरेन्द्रलाल कर्ण, प्राध्यापक ईश्वरकान्त झालगायत व्यक्ताले बाढीपहिरोलगायत मनसुनजन्य विपद्बाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर