बाढीपहिराबाट तनहुँमा एक करोड क्षति — OSNepal

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

LC (KTM) October 03, 2024 0

दमौली (तनहुँ), १७ असोजः हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ ।

वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ । देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा हानी भएको छ । देवघाट गाउँपालिका–२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा रु ५० हजार बराबरको क्षति भएको छ । पहिराबाट बोडी बीउ क्षति हुँदा रु एक लाख क्षति भएको छ । बाढीले धानखेतमा क्षति हुँदा रु दुई लाख ४० हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा रु ८६ लाख ७० हजार ५७० बराबरको क्षति भएको छ । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिराले धानमा क्षति हुँदा रु १५ लाख ९१ हजार ८०० बराबरको क्षति भएको छ । ऋषिङ गाउँपालिकास्थित पहिराले कोदोमा क्षति हुँदा रु ६० हजार र सुन्तलाबोट ढल्दा रु ९६ हजार बराबरको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर