शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा — OSNepal

शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा

LC (KTM) October 01, 2024 0

काठमाडौँ, १५ असोजः असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् । काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं –१३ को सिमानामा पर्ने छापभञ्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बगाउन सक्ने खतरामा परेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । यहाँको छापभन्ज्याङ र ढकालबस्ती पहिरोमा परेको हो ।

शङ्खरापुर नगरपालिका वडा नं १ का वडा सदस्य रामकृष्ण ढुङ्गाना भन्नुहुन्छ–“सडकसँगै बस्ती नै भासिएको छ । डेढमिटर जमिन बगिसकेको छ । दीर्घकालीन रोकथाम नगरे यसले ठूलो विपत्ति निम्त्याउन सक्छ, जमिन धेरै ठाउँमा चिरा परेको छ, जसका कारण एक सय भन्दा बढी घर जुनसुकै बेला बग्नसक्ने खतरामा छ ।”

विगत १० वर्ष पहिलेदेखि बग्न थालेको पहिरोे केही वर्षअघि रोकिएको थियो । यस वर्षको भीषण वर्षासँगै पुनः तीव्र गतिमा बग्न थालेको हो । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१३ का वडाध्यक्ष श्रीराम घोरासैनी भन्नुहुन्छ–“बर्सेनी पानी पर्ने वित्तिकै बग्ने सडक केही वर्ष अघिदेखि ग्याबिन वाल लगाएर रोकिएको थियो । यस वर्षको अत्यधिक वर्षाका कारण सो वाल पनि बगेको छ । ‘सामान्य टालटुल गरेर यहाँको पहिरो रोकिँदैन । यसका लागि धेरै बजेटको आवश्यकता पर्छ । मेलम्ची र शङ्खरापुर नगरपालिकाले यसलाई चासो दिएर तत्कालै दीर्घकालीन रोकथामको लागि पहल गर्नुपर्छ ।”–उहाँले भन्नुभयो ।

दुवै बस्तीका घर, सडकदेखि खेतीयोग्य जमिन सबै उच्च खोजिममा छन् । जमिन बगेका कारण केही घर ढल्केका छन् । अन्य विकल्प नभएपछि स्थानीयवासी जोखिमयुक्त घरमा बस्न बाध्य छन् । ब्राह्मण, क्षेत्री, नेवार, तामाङ समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रका केही घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ । चिरा परेको जमिनबाट वर्षात्को पानी छिरेर झनै जोखिममा परेको स्थानीयवासी खेचरनाथ दङ्गालको गुनासो छ ।

पहिरोका कारण दुई जिल्लाको बस्तीसँगै साँखुबाट मेलम्ची जाने सडक पनि जोखिममा परेको छ । पहिरोले सहायक वैकल्पिक राजमार्गअन्तर्गत निर्माणको चरणमा रहेको साँखु फट्केश्वर सडकको दुवै जिल्लाका केही खण्ड भासिएको छ ।
सडक बगेकै कारण यस क्षेत्रको यातायात पटकपटक अवरुद्ध हुने गरेको स्थानीयवासीले बताएका छन् । पहिरोले ठूलो रुप लिएसँगै स्थानीय घरबारविहीन हुने अवस्थामा पुगेका छन् । दुवै जिल्लाका सम्बन्धित निकायले रोकथामको काम शीघ्र सुरु गर्नुपर्ने स्थानीयको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर