उपभोक्ता मूल्य सूचकाङ्क गणनाका आधार वर्ष फेरियो — OSNepal

उपभोक्ता मूल्य सूचकाङ्क गणनाका आधार वर्ष फेरियो

LC (KTM) September 25, 2024 0

काठमाडौँ, ९ असोज : नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैङ्कले आधार वर्ष फेरेको हो ।नयाँ मूल्य सूचकाङ्कमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैङ्कले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकाङ्कअनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो ।

यसअघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै आएको थियो । राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले नयाँ मूल्य सूचकाङ्कमा राष्ट्र बैङ्कको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिनुभयो ।

निर्देशक भट्टले भन्नुभयो, “यसअघि उपभोक्ता मूल्य सूचकाङ्कको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकाङ्कमा ५२५ वस्तु कायम गरिएको छ ।” उहाँले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिनुभयो ।

नयाँ मूल्य सूचकाङ्कले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उहाँले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दावी गर्नुभयो । राष्ट्र बैङ्कले राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गरौँ भनेको निर्देशक भट्टले बताउनुभयो । नयाँ मूल्य सूचकाङ्क सार्वजनिक भएपछि तथ्याङ्कलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्याङ्क र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्याङ्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाली बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्क नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्याङ्कअनुसार मूल्य मिल्दैन,” उहाँले भन्नुभयो, “जस्तो केही कारण काठमाडौँ छिर्ने मालवाहक सवारी साधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर