काठमाडौं- ‘एडल्ट’ सर्टिफिकेट पाएपछि केही समस्यामा परेको फिल्म ‘रावायण’को टिमले फिल्मको पुनः सेन्सर गरेको छ । आइतबार चलचित्र सेन्सर पास समितिले पुनः सेन्सर गर्दै फिल्मलाई ‘पिजी’ सर्टिफिकेट दिएको छ ।आइतबार पुजाले एक अन्र्तवार्तामा ‘एडल्ट सर्टिफिकेट’ दिएपछि १६ बर्ष मुनिका दर्शक फर्किएको भन्दै चित्त दुखेको गुनासो गरेकी थिइन् । अब भने योसँगै अब फिल्मलाई १६ बर्ष उमेर मुनिका बालबालिकाले पनि हेर्न पाउने भएका छन् । तर, उनीहरुले फिल्म हेर्नका लागि बाबुआमाको साथमा जानुपर्नेछ ।
फिल्मको टिमले पनि फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पाउँदा दर्शक हलबाट फर्किन वाध्य भएको जनाएको थियो । फिल्मका केही दृश्य ब्लर गर्ने र केही संवादमा म्यूट गर्ने निर्देशनसहित सेन्सर बोर्डले फिल्मलाई ‘पिजी’ सर्टिफिकेट दिएको हो । नायिका पूजा शर्माको लगानीमा सुदर्शन थापाको निर्देशन रहेको यो फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, प्रकाश शाह लगायतका कलाकारहरूको अभिनय छ । फिल्मले दर्शकबाट सुखद प्रतिक्रिया पाइरहेको छ । शुक्रबार र शनिबार फिल्मले दर्शकको राम्रो साथ पाएको थियो ।