पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ लगाएतले स्वागत गरेका थिए ।
पलेशालाई स्वागत गर्न बाजागाजा सहित हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । त्यसपछि उनलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुराइएको थियो । राखेपमा खेलकुदमन्त्री चौधरी, राखेप सदस्यसचिव घिसिङ, तेक्वान्डो संघका पदाधिकारी लगाएतले सम्मान गरेका थिए ।
सो अवसरमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफुले जितेको मेडल राष्ट्रका लागि भएको गौरव महशुस गरेको बताइन् । सिमित स्रोत साधनकाबीच आफुले तयारी गरेको र खेलको दिन उच्च मनोवलका साथ खेलेको र सफलता प्राप्त गरेको उनले बताइन् ।
पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जितेकी थिइन् । उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।