राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थीरकताका कारक दलहरु नै अहिले सरकारमा रहेको बताउनुभएको छ । राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रुपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरु नै अस्थीरकताको प्रमुख कारक भएको बताउनुभएको हो ।
उहाले अहिले ठूला दलहरु मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य बिषय नभएको जिकिर गर्नुभयो । लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुक माथि उठ्न नसकेको बताउनुभयो । अव पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआउने हो भने देश दिर्घकालीन निराशाको खाडलमा जाने र जस्तोसुकै अराजकता उत्पन्न हुने उहाको भनाइ छ ।
उहाले अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । लिङ्देनले अहिलेको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठीक ढंगले आफुलाई अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । राप्रपा पनि निष्कृय भए देशका लागि दुर्भाग्य हुने उहाले बताउनुभयो । उहाले सदनमा राप्रपाले ठीक ढंगले आफ्नो काम गरिरहेको जिकिर गर्नुभयो ।