राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषयहरुलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताउनुभएको हो ।
उहाले हदम्यादको विरुद्ध जनताले उठाएका बिषयलाई आफुहरुले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गर्नुभयो । ऐनमा स्पष्ट भएका बिषयलाई मन्त्रीपरिषद्बाट पारित गराइ हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उहाले बताउनुभयो । यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने उहाको भनाइ छ । उहाले विधेयकमाथिको अन्य नितिगत कुरामा पनि निरन्तर रास्वपाको खवरदारी रहने उल्लेख गर्नुभयो ।