इनरुवा (सुनसरी- कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् ।स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छभने दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारको घटनाका आरोपी सातजना पक्राउ
सुनसरी इटहरी–६ स्थित कुवेर चोकमा भएको खुकुरी प्रहारको घटनमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इटहरी–२ का २० वर्षीय लोप्सन गुरुङ, इटहरी– १८ का २२ वर्षीय ज्योतिष चौधरी, २२ वर्षीय मनिष चौधरी, इटहरी–१७ का २१ वर्षीय गणेश चौधरी, २१ वर्षीय आशिष चौधरी, इटहरी–१३ का २६ वर्षीय उमेश कोइराला र इटहरी–२० का १६ वर्षीय हिमेश राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार इटहरी–६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका पक्राउ परेकाले लखेटी–लखेटी इटहरी–१६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका बुढाथोकीको उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।