सुदूरपश्चिम, १३ भदौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ ।
सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला गएको स्थायी समितिको बैठकले खारेज गरिसक्यो, पार्टी एकताबद्ध छ ।”
अध्यक्ष दाहालले माओवादी घटकसँग एकता गर्नेबारे वार्ता भइरहेको र समाजवादी मोर्चामा रहेका अन्य क्रान्तिकारी शक्तिसँग एउटै पार्टी बनाउने छलफल चलिरहेको बताउनुभयो । —