काठमाडौं । मोडलिङ क्षेत्रमा एक दशक लामो अनुभव बटुलेकी मोडल तथा फेशन डिजाइनर स्वीकृति प्याकुरेलले पहिलोपटक अन्तर्राष्ट्रिय प्रोजेक्टमा पाइला अघि बढाएकी छिन् । प्याकुरेलको व्यवस्थापनमा पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । उनि संलग्न आयोजक कम्पनि ‘यू क्यान फ्लाई फेशन प्राली’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।
नारीले पुरूष प्रतियोगीताको व्यवस्थापन र कोरियोग्राफीको लागि अघि बढ्नु आफैमा नयाँ अनुभव रहनेछ, प्याकुरेल भन्छिन्, यो मेरो करियरको सिकाई र भोगाईमा नयाँ प्रयोग रहनेछ ।’ ‘कार्यक्रम व्यवस्थापनमा पनि ४ वर्ष बढि समय बिताइसकेकी छु, मोडलिङ क्षेत्रमा लाग्दाको १० बर्षे अनुभव र कार्यक्रम व्यवस्थापनको अनुभवलाई आत्मसाथ गर्दै नयाँ यात्रामा निस्केकी छु, सबैको साथ सहयोगको अपेक्षा छ ‘ प्याकुरेलले भनिन् ।
प्याकुरेलले यसअघि नै नेपालमा प्रतिष्ठित मानिने धेरै सौन्दर्य प्रतियोगिताहरूमा कार्यक्रम व्यवस्थापनको काम गरिसकेकी छिन् । उनले ठुला र प्रतिष्टित मानिने व्यापारिक घरानाहरूमा समेत ब्राण्ड प्रवर्धनको काम समेत गरेकी छिन् । फेशन र रङगमञ्चको दुनियाँमा स्थापित हुने लक्ष्य बोकेकी प्याकुरेल सुन्दर जिउडाल र आकर्षक लूक्सका कारण धेरैको रोजाईमा पर्दै आएकी मोडल हुन् ।
नेपालको सवैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ । यहि अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौंमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ । यस्तै मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ । सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन खुला गरिएको छ ।
यो प्रतियोगीताको व्राण्ड एम्बास्डर तथा बोर्ड सदस्यको रूपमा स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने एभेन्ट मेन्टर तथा कोरियोग्राफरमा अभिनेता प्रशान्त ताम्राकार छन् । मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवाहरूलाई स्थान दिने र उनिहरूको कला तथा क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रवन्ध निर्देशक प्याकुरेलले बताइन् ।
अडिसनबाट अन्तिम छनोटमा परेकाहरूबीच यो प्रतियोगिताको फाइनल सेप्टेम्बर २८ मा काठमाडौंमा हुनेछ । ‘म्यान अफ दि इयर २०२४’का विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२४’को लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए । प्रतियोगिताको इभेन्ट कोर्डिनेसनमा मञ्जिल श्रेष्ठ छन् ।