आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो — OSNepal

आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो

LC (KTM) August 17, 2024 0

डुम्रे (तनहुँ), १ भदौ : पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ ।

गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिनुभयो । पछिल्लो आठ वर्षको तथ्याङ्कअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदै छ ।

विसं २०७९ भदौमा व्यास नगरपालिका–११ राति डिल्लीमाया गुरुङ र शङ्कर गुरुङलाई घरको डिढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शङ्करको ज्यान गयो । सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आत्रलमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिनुभयो ।

सोही वर्षको कात्तिक १५ गते व्यास–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर–१ का भिमलाल गरौजा पिढँीमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते हुनुभएको थियो । घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताउनुभयो । साथै २०७८ असोजमा बन्दीपुर–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार विसं २०७७ साउनमा शुक्लागण्डकी नगरपालिका–२ का नारन राना, २०७६ माघमा बन्दीपुर–४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका–२ का ऋतिक रोका, असोजमा भानु–१ का कुशल बानियाँ, जेठमा भानु–२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मङ्सिरमा भानु–२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु–४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु–२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो ।

विसं २०७९ असारमा बन्दीपुर–१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चिुतवाको आक्रमणबाट घाइते भएका थिए । विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब आठ वर्षयत चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।”

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास–८ का गोरे विकले भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते हुनुभएको थियो । भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ । “कानुनी रुपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । वन्यजन्तुको बासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो”, उहाँले भन्नुभयो ।

वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ । यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो ।

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।

“विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो । उक्त समयमा भानुका जङ्गलमा चितुवा बाहेक अन्य वन्यजन्तु देखिएका थिएनन् । आहार, बासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्”, सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भन्नुभयो । विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

वनजङ्गल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताउनुभयो । यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “वन्यजन्तुको आहार, पानी, बासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर