राजविराज (सप्तरी), २७ साउन : राजविराज नगरभित्र छाडा रुपमा छाडिएका गाईगोरुलाई नियन्त्रण गर्न नसक्दा सडक दुर्घटनाको जोखिम बढेको छ । पशुपालकले पशुचौपाया मनपरी छाड्ने गरेका कारण सप्तरीको सदरमुकाम राजविराजको मुख्य बजारमै गाईगोरुको रजाइँ देखिएको छ ।
राजविराजको रुपनी रोडदेखि गजेन्द्र चोकसम्मको मुख्य सडकमा गाईगोरु बीच सडकमै हिँड्डुल गर्दा सर्वसाधारणलाई आउजाउ गर्न समस्या हुने गरेको छ । छाडा रुपमा छाडिएका गाईवस्तुका कारण चालकलाई बढी समस्या भएको छ । छाडा गाईवस्तुका कारण नागरिकलाई सडक पेटीमा हिँड्नसोत मुश्किल हुने गरेको छ । जुन सुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा छ ।
बजारको मुख्य सडक दशन चोकमा समेत यत्रतत्र छाडा गाईगोरु देखिन्छन् । त्यहाँ फलफूल पसल सञ्चालन गर्दैआउनुभएका नरेश मण्डल दैनिकरुपमा छाडा गाईवस्तुका कारण हैरानी बेहोर्नु परिरहेको बताउनुहुन्छ । पसलमा राखेका फलफूल गाईगोरुले खाएर दुःख दिने गरेको उहाँको भनाइ छ । मण्डल मात्र होइन अरु पसलेको पनि मुख्य समस्या यही रहेको छ ।
छाडा गाईगोरु नियन्त्रण गर्न राजविराज नगरपालिकाले ध्यान नदिएको व्यापारीको आरोप छ । साँझतीर छाडा गाईगोरुको बीच सडकमै बास हुन्छ । मोटरसाइकल चालक रोशनकुमार गोइतले भन्नुभयो, “साँझमा हाट बजारमा तरकारी किन्नै सकिँदैन, छाडा गाईगोरु सडक कब्जा गरेर बसेका हुन्छन् । तरकारी व्यापारीलाई पनि समस्या भइरहेको छ ।”
राजविराजमा मुख्य सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्थाहरु भएका कारण सरकारी कार्यालय जाने बीच सडकमा छाडा गाईगोरु बस्दा समयमै कार्यालय पुग्न कठिनाइ हुने गरेको कर्मचारी बताउँछन् । ट्राफिक प्रहरीले समेत छाडा गाईवस्तुलाई सडकबाट हटाउन नसक्दा सडक दुर्घटनाको खतरा अत्यधिक रहन्छ ।
छाडा गाईवस्तुका कारण राजविराजको बजार क्षेत्र दुर्गन्धित भएको छ । राजविराज नगरपालिकाले गाईगोरुलाई नियन्त्रण गर्ने उपाय नअपनाउँदा नगरवासी हैरान भएका छन् । राजविराजका सडकमा देखिएका छाडा गाईगोरुको समस्या चाँडै समाधान गरिने कार्यवाहक नगरप्रमुख इसरत प्रवीनले बताउनुभयो ।