डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलको सम्पूर्ण प्रमाण सुरक्षित छन् - कुलमान घिसिङ — OSNepal

डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलको सम्पूर्ण प्रमाण सुरक्षित छन् – कुलमान घिसिङ

LC (KTM) August 09, 2024 0

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलको सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलमा कुनै चलखेल नभएको दावी गर्दै सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताउनुभएको हो । उहाले प्राधिकरणसंग भएको बिलको प्रमाण यसअघि अदालत र अघिल्लो सार्वजनिक लेखा समितिमा समेत पेश भइ आवश्यक आदेश र निर्णय भएको जिकिर गर्नुभयो । टिओडी मिटरको रिडिङ प्राधिकरणसंग नरहेको भन्ने बिषय सहि नभएको भन्दै उहाले सवै बिबरण प्राधिकरणसंग रहेको बताउनुभयो । अहिले सार्वजनिक लेखा समितिले मागेका सवै बिबरण प्राधिरणले पठाइसकेको र त्यसमा सपोर्टका लागि अन्य कागजात पनि समावेश गरिएको उहाले बताउनुभयो ।

उहाले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको जानकारी दिनुभयो । उहाका अनुसार प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । उहाले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको बताउनुभयो ।

निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक बर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको उल्लेख गर्नुभयो । नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुन लागेको जानकारी दिदै घिसिङले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताउनुभयो ।

उहाले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गर्नुभयो । उहाले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

घर र वस्ति मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उहाले बताउनुभयो । उहाले सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने र सरकारको निर्देशन र उपभोक्ताको हित प्राधिकरणका लागि सर्वोपरि भएको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर