काठमाडौँ, २३ साउनः नेपाली कांग्रेसले बङ्गलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा बङ्गलादेशी नागरिकको भावनाबमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना र लोकतान्त्रिक प्रक्रियाअनुसार गतिविधि अघि बढ्ने विश्वास लिएको जनाएको छ ।
आजदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकले उक्त घटनाबाट बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारलाई थप तदारुकता देखाउनसमेत आग्रह गरेको छ ।
यस्तै, बैठकले केन्द्रीय कार्यसम्पादन समितिको गत असार १९ र २९ गतेको बैठकका निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको उहाँले बताउनुभयो ।
आजको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको जानकारी गराउनुभएको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा गत फागुन ७ देखि १० गतेसम्म ललितपुरमा सम्पन्न पार्टीको महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहितका प्रस्तावहरु उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान (भदौ १५–मङ्सिर २५), अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संशोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना, शङ्कर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कँडेल, गोविन्दबहादुर शाह र सीतादेवी देवकोटाले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहीबार दिउँसो १ बजे पुनःबस्नेछ ।