काठमाडौँ, २१ साउन : गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ ।गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको थियो । कोरोना महामारीको कहरपछि भारतसँग जाडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो ।
मन्त्री लेखक र राजदूत श्रीवास्तबीच भएको सो छलफल पछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो ।
“साउन १५ गतेयता हालसम्म सात विदेशी पर्यटक यो नाका भएर भारत प्रस्थान गरेका छन्,” उहाँले भन्नुभयो । कोरोना महामारीका बेला सन् २०२१ डिसेम्बर १० तारिखदेखि भारतले नेपलको गड्डाचौकी नाका भएर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । विदेशी पर्यटकलाई गड्डाचौकी नाका हँुदै निर्वाधरुपमा भारत जान दिन तीन वर्षदेखि कञ्चनपुरका सरोकारवाल निकाय र नीजि क्षेत्रले पटक–पटक सरकारसँग माग गर्दैआएका थिए ।
“पर्यटकलाई भारत जान अब सहज गरिएको छ,” प्रमुख भट्टले भन्नुभयो । उहाँका अनुसार गड्डाचौकी नाकाहँुँदै वार्षिक झण्डै तीन हजारको हाराहारीमा विदेशी पर्यटक आवत जावत गर्न गर्छन । कोरोना महामारीपछि भारतीय पक्षले बाह्य पर्यटकलाई आफ्नो देशमा आवतजावत गर्न नदिँदा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए ।