जुम्लामा ७९६ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल — OSNepal

जुम्लामा ७९६ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

LC (KTM) August 04, 2024 0
जुम्ला, २० साउनः गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका सात सय ९६ जनाले जन्म र मृत्युको बेला दिइने २० केजी चामल प्राप्त गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका अनुसार जन्म हुँदा तीन सय ३४ र मुत्यु हुँदा ३२ जनाले मन्सुली चाम लिएका छन् ।
त्यस्तै अरुवा मध्यम चामल लिनेमा जन्मतर्फ तीन सय २१, मुत्युतर्फ २३ जना छन् । कार्यालयका अनुसार अरुवा मोटा चामल लिनेमा जन्मतर्फ ४८ र मुत्युमा दुई जना छन् । अरुवा मकावनपुर चामल भने जन्ममा ३०, मुत्युमा पाँच जनाले लिएका कार्यालयका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार जन्म र मृत्यु हुँदा गत आवमा रु नौ लाख ५९ हजार नौ सय ८० बराबरको एक सय ५९ क्विन्टल चालम वितरण भएको छ । उहाँले चालम उपलब्ध गराउँदा ज्यालामा भने रु तीन लाख ८८ हजार पाँच सय ज्यालामा खर्च भएको बताउनुभयो ।
उक्त सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाबासीले २० किलो चामल र रु पाँच सय ज्याला पाउँछन् । त्यसैगरी हिमा, सिञ्जा, तिला र कनकासुन्दरी गाउँपालिकाबासीले २० किलो चामल र रु एक हजार ज्याला पाउने गरेको कार्यालय प्रमु्ख सन्तोष तिवारीले बताउनुभयो । तिला गाउँपालिका– १ का स्थानीय सुनिता रावतले उक्त अनुदानले ठूलो राहत हुने गरेको बताउनुभयो ।
विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क २० किलो चामल दिने घोषणा गरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा हाल कार्यालयमा १४ सय क्विन्टल चामल मौन्दात रहेको जनाएको छ  । भदौ दोस्रो सातासम्मका लागि चामल पुग्ने भएकाले सहज रुपमा वितरण गरिने सूचना अधिकारी शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर