काठमाडौ- गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् ।सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए ।
सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त घोषणा गरेका थिए । गृहमन्त्री खाँणले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
शनिबार राति बाढीले चनौटेको पुल बगाएको थियो । सो पुल बगाएपछि मेलम्ची र हेलम्बुको सडक सम्बन्ध टुटेको छ । गृहमन्त्री खाँणले सो स्थानमा पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था मिलाइने भन्दै तत्काल आवश्यक पहल गर्न भनेका हुन् । राजधानी दैनिकमा खबर छ ।