काठमाडौँ, ७ साउन : नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले स्रोत साधनको अभावका कारण संविधानमा लेखिएका कुरा लागू हुन नसकेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उहाँले स्रोत साधनको कमीका कारण संविधानमा उल्लेख भएका कुरा लागू गर्न नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्रोत साधनको कमीले संविधानमा लेखिएका र बोलिएका कुरा लागू गर्न सकिँदैन, अनि जनताको नजरमा हामी ‘फेलिएर’ हुन्छौँ ।” उहाँले वर्तमान संविधानको मर्म र भावनालाई नखुम्च्याई, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “संविधान संशोधनका नाममा समावेशितामा कुनै सम्झौता हुँदैन, संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गरिने छ ।” उहाँले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपाय रहेको उल्लेख गर्दै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गरिने जिकिर गर्नुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ, हामी प्रतिस्पर्धी पार्टी पनि हौँ, त्यस अर्थमा हाम्रो सम्बन्ध एवं सहकार्य जटिल पनि छ, तर परिस्थितिले यो आवश्यक बनिरहेको छ ।”