काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले तत्कालीन नेकपा (एमाले) सँग आफूहरूले विद्रोह गर्नु जायज रहेको विभिन्न समयका घटनाक्रमले समेत पुष्टि गरेको बताउनुभयो । विद्रोह नगरेको भए मुलुकमा कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने अवस्था रहेको उहाँको कथन छ ।
पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारलाई अन्तिम समयसम्म पनि समर्थन कायमै रहने बताउनुभयो । राष्ट्रिय राजनीतिमा देखापरेका समस्या समाधान गर्न आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिनुभयो ।
सम्मानित नेता झलनाथ खनालले विगतमा दुई तिहाइ बहुमत नजिक रहेको कम्युनिष्ट सरकार केही नेताको आत्मा केन्द्रित स्वार्थले तहसनहस भएको घटनाबाट शिक्षा लिएर वामपन्थी एकताका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।