कठहवाका अधिकांश मुसहर बालबालिका विद्यालय बाहिर, अभिभावक भन्छन् - यो गरिब बस्ती हो, बालबच्चा कसरी पढाउने ?" — OSNepal

कठहवाका अधिकांश मुसहर बालबालिका विद्यालय बाहिर, अभिभावक भन्छन् – यो गरिब बस्ती हो, बालबच्चा कसरी पढाउने ?”

LC (KTM) June 19, 2024 0

मर्चवार (लुम्बिनी) – नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाका एक निजी विद्यालयमा कक्षा २ सम्म अध्ययन गर्नुभएकी पुनम मुसहरले विद्यालय छोडेको एक वर्ष भयो । यसवर्ष कक्षा ३ मा भर्ना हुनुपर्ने भएपनि उहाँका अभिभावकले भर्ना गर्न सक्नुभएन । विद्यालय जाने इच्छा भएपनि पुनमले अध्ययन गर्नुभएको निजी विद्यालयको बाँकी शुल्क तिर्न नसक्दा गाउँ नजिकैको सामुदायिक विद्यालयलेसमेत भर्ना लिन मानेन ।

केही वर्षअघि बुबा धिमल मुसहरले पुनमसँगै उहाँका दुई दाजु बहिनीलाई नजिकैको एपेक्स बोर्डिङ स्कुलमा भर्ना गर्नुभएको थियो । आर्थिक अभावले शुल्क तिर्न नसकेपछि उहाँहरूले पढ्न पाउनुभएन । सामुदायिक विद्यालयमा पढ्न खोज्दा, स्थानान्तरण प्रमाणपत्र मागियो । एपेक्सको पाँच हजार बक्यौता तिर्न नसकेपछि सामुदायिक विद्यालयमासमेत भर्नाबाट बञ्चित हुनुप-यो ।

कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान सकेका छैनन् । कठहवामा मात्रै ४० घरपरिवार मुसहर जाति बस्छन् । यहाँका अधिकांश विद्यालय उमेर समूहका बालबालिका विद्यालय जाँदैनन् । पुरै बस्तीबाट एकजना मात्र एसइई परीक्षा दिएर परीक्षाफलको प्रतिक्षामा रहनुभएका उमेश मुसहरले भन्नुभयो, “यो गरिब बस्ती हो, यहाँ मजदुरी नगरे मुख जुठो पार्न गाह्रो छ, बालबच्चा कसरी पढाउने ?”

जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम सुवेदीले स्थानान्तरण प्रमाणपत्र विना कुनै विद्यालयले विद्यार्थी भर्ना गर्न नपाउने बताउनुभयो । “अझ यो वर्ष अनलाइन इएमआइएस प्रणाली लागू भएकाले अध्ययनरत विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएसम्म अर्को विद्यालयले भर्ना गर्न नपाउने व्यवस्था छ”, उहाँले भन्नुभयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गानाले मुसहर गाउँका अधिकांश बालबालिका विद्यालयबाहिर रहेको समस्याबारे जानकारी भएको स्वीकार्दै भन्नुभयो, “अभिभावकले पनि आफ्नो आर्थिक हैसियत नहेरी छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्ने र शुल्क बाँकी राख्दै सामुदायिक विद्यालयमा ल्याउने समस्या छ ।”

प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीले मुसहर समुदायको सामाजिक विकासका लागि धेरै प्रयास भए पनि सफलता प्राप्त नगरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर