काठमाडौँ, ३० जेठ : नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राजनीतिकरुपमा शान्ति प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै अब चाँडै कानुनी हिसाबबाट पनि टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तत्काल पारित गरिनुपर्ने बताउनुभयो । “जनताको तहबाट शान्ति प्रक्रिया निष्कर्षमा पुगिसेको भने सेना समायोजन, हतियार व्यवस्थापनलगायत काम पनि सम्पन्न भइसकेका छन्”, सांसद दाहालले भन्नुभयो, “गठबन्धनमार्फत एकअर्कामा भोट साटासाट गरिसकेका छौँ । सामाजिक सद्भाव तथा एकताका दृष्टिकोणबाट शान्ति प्रक्रिया सम्पन्न भइसकेको छ, त्यसले अव कानुनी हिसाबले पनि ती काम टुङ्ग्याउन आवश्यक छ ।”
जनयुद्धको नेतृत्व गरेको माओवादी पार्टी चारपटक निर्वाचनमा सहभागी भइसकेको र जनयुद्धलाई जनताले अनुमोदन गरिसकेको पनि उहाँको भनाइ छ । नेपालको शान्ति प्रक्रिया विशिष्ट र मौलिक रहेको उल्लेख गर्दै सांसद दाहालले अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक नजिरका रुपमा स्थापित गर्न पनि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।