काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा भाग लिँदै उनीहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।सांसद महेशकुमार बर्तौलाले कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम आगामी आवका सकारात्मक कार्यक्रम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्ने सुझाव दिए ।
“आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले कृषि दशक घोषणा गर्नुभएको छ । कृषि उत्पादन बढाउने अन्य योजना नबनाए यो लक्ष्य कार्यान्वयन हुन गाह्रो छ”, उनले भने, “मुलुकका विभिन्न स्थानमा खेती बाँझो छन् । बाँझो खेत प्रयोग गर्नका लागि हरेक स्थानीय तहलाई ‘बाँझोमुक्त पालिका’ घोषणा गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन आवश्यक छ ।”
सांसद बर्तौलाले आगामी आवमा लिइएको लक्ष्यहरु सकारात्मक भए पनि सही रुपमा कार्यान्वयन गर्ने सवालमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताए ।सांसद प्रभु साहले विप्रेषण छली गर्न हुन्डी कारोबार बढिरहेको भन्दै हुन्डी कारोबार रोक्ने र मुलुकको अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको बताए । “विनियोजन भएको बजेट वक्तव्य हेर्दा देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिने र समनाताको अनुभूति दिलाउने गरी आउन सकेन”, उनले भने ।