चितवन, जेठ १५-गणतन्त्रलाई संस्थागत गर्ने दायित्व सबैको रहेको सरोकार भएकाहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले गणतन्त्रलाई संस्थागत गर्ने दायित्व नागरिक समाज, राजनीतिक दल, निजामती कर्मचारी तथा सर्वसाधारण सबैको रहेको बताएका हुन् ।
वाग्मती प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गणतन्त्रलाई संस्थागत गर्दै जनताले यसको प्रत्यक्ष अनुभूति पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र आएको लामो समय हुँदा पनि कार्यान्वयन पक्षमा केही समस्या देखिएको छ । यसलाई सबैले एकजुट भएर कार्यान्वयनमा ल्याउनुपर्छ ।”
मुलुकमा गणतन्त्र स्थापना भएसँगै विकास, पूर्वाधार निर्माणलगायत क्षेत्रमा काम भएका मन्त्री थपलियाले बताउनुभयो । पछिल्लो नागरिकका अपेक्षा पनि बढ्दै गएका भन्दै प्रदेश सरकार पूर्वाधार विकास र नागरिकमैत्री सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीले गणतन्त्र स्थापनापछि राजनीतिक परिवर्तनसँगै भएका कामबाट जनता पूर्णरुपमा सन्तुष्ट नभएका भनाइ राख्नुभएको थियो । एकले अर्कोलाई गाली गरेर समस्या समाधान नहुनेमा उहाँहरुको जोड थियो ।
वाग्मती प्रदेशसभा सदस्य उत्तम जोशी र हरि सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा (समाजवादी)का जिल्ला अध्यक्ष नरेन्द्र कन्दङ्वा, जिल्ला समन्वय समितिका उपप्रमुख कल्पना काफ्ले सापकोटालगायतले गणतन्त्र संस्थागत गर्न सबै राजनीतिक दल एकजुट हुन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले गणतन्त्रलाई अझै बलियो बनाउन सबैको सहयोग र सक्रियताको खाँचो रहेको बताउनुभयो । कार्यक्रम अघि गणतन्त्र दिवसका अवसरमा भरतपुरको चौबिसकोठीबाट जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।