काठमाडौँ, १ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकास तथा जनताको समृद्धिका लागि माक्र्सवादी चिन्तनसहितको कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्ने बताउनुुभएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।
एकीकृत समाजवादीको आज यहाँ सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले बहुसङ्ख्यक जनताको भरोसा रहेको कम्युनिष्ट पार्टीमा निजी स्वार्थ बढ्दै गएकाले विभाजन र पुनर्गठन गर्नुपरेको उल्लेख गर्दै आफ्नो पार्टी सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक रहेको बताउनुुभयो । मुलुकमा गरिबी न्यूनीकरण गर्न औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि समाजवादी अर्थ व्यवस्थालाई कार्यान्वयनमा जोड दिनुुभयो ।
पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, पार्टीको समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदनलाई अनुमोदन गर्न बोलाइएको बैठक यही जेठ २ गतेसम्म चल्ने छ । बैठकमा पार्टीको आन्तरिक विवाद र समसामयिक परिस्थितिबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।