तम्घास, ९ वैशाख : गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका¬–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आगलागीबाट करोडाँैका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले राससलाई जानकारी दिनुभयो ।
शनिबार दिउँसोबाट इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको थियो जसबाट हस्तिचौरका १५ जनाको घरगोठ जल्नाका साथै दर्जनौँ चौपायाको आगोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिका–१ मा लागेको आगोका कारण ट्र्याक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ । डढेलोका कारण लु४त ६५३५ नंको ट्र्याक्टर जलेर पूर्ण रूपमा क्षति भएको छ ।
आगोले घरभित्र भएका अन्न, लत्ताकपडा, गरगहनालगायत सबै सामग्री नष्ट गरेकाले पीडित झनै समस्यामा परेका छन् । जङ्गलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो । जिल्लाको इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका साथसाथै अन्य स्थानमा पनि आगलागी भइरहेको छ ।
जिल्लामा आगलागीबाट पीडित भएकाका लागि राहत र उद्धार कार्य जारी छ । पीडितलाई गुल्मी उद्योग वाणिज्य सङ्घले कपडा, नेपाल रेडक्रस सोसाइटीले त्रिपाललगायत अत्यावश्यक सामग्री, गाउँपालिकाले खाद्यान्न प्रदान गरेका छन् ।
त्यसैगरी, खानेपानी तथा सरसफाइ कार्यालयले दुई हजार पाँच सय मिटर पाइप एवं जिल्ला प्रशासन कार्यालयले प्रतिपरिवार २० हजारका दरले राहत रकम प्रदान गरेको छ । मरेका चौपायाबाट थप दुर्गन्ध फैलिन नदिन आगलागीमा परी मरेका पशुलाई स्थानमा गाड्ने काम भइरहेको छ ।
आइतबार गुल्मी क्षेत्र नं २ ‘क’ का सासंद डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत समूहले घटनास्थलको अवलोकन गरेको छ ।
आगोले विद्युत्को सबस्टेसनसमेत जलेको छ । शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेसन पूर्णरूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोड बराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ । डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा लागेको आगोबाट भएको क्षतिको विवरण आउन भने केही समय लाग्ने शर्माले बताउनुभयो ।