काठमाडौँ, १७ चैतः नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा सीमित भयो । नेपालको आजको हारसँगै जारी टी–२० शृङ्खला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्स २१ रनले विजयी भएको थियो ।
नेपालका लागि देव खनालले २५ बल खेल्दै सात चौकाको सहयोगमा ४७ रन बनाए भने बसिर अहमदले २७, बिनोद भण्डारीले २६, लोकेश बमले २५ रनको योगदान दिए । आयरल्याण्ड वुल्भ्सका लागि वेन ह्वाइटले तीन विकेट लिए भने फिओन ह्याण्ड र थोमस माएजले दुई÷दुई विकेट लिए । त्यसअघि ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय २४ रनको विशाल योगफल तयार पारेको थियो ।
उसका लागि निल रकले अविजित ७१ रन बनाए । उनले ३४ बल खेल्ने क्रममा सात छक्का र एक चौका प्रहार गरे । साथै पिटर मूरले ६५ रन बनाए । उनले सात छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक जेम्स म्याकोलुमले २६, रोद अदिरले १७ , फिओन ह्याण्डले १९ रनको योगदान दिएका थिए । नेपाल ‘ए’का लागि सागर ढकालले तीन विकेट लिए भने कमल ऐरी, पवन सर्राफले एक÷एक विकेट लिए । शृङ्खलाको तेस्रो खेल आगामी सोमबार हुनेछ ।