इनरुवा (सुनसरी), १९ फागुन : सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिनुभयो ।
त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताउनुभयो ।
खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको उहाँले बताउनुभयो । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता रहेको थियो ।