ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने — OSNepal

ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने

LC (KTM) February 28, 2024 0

फुङ्लिङ (ताप्लेजुङ), १६ फागुन : ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो ।

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम (डम्बर) ले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच रू तीन करोड ३७ लाखको ठेक्का सम्झौता भएको छ ।

चालु आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने अध्यक्ष हाङगामले बताउनुभयो । आगामी आवभित्र सडक कालोपत्र गरिसक्ने गाउँपालिकाको योजना रहेको उहाँको भनाइ छ ।

दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । पालिकासँग बजेट पर्याप्त नभएकाले प्रदेश तथा सङ्घीय सरकारसँग पनि आवश्यक बजेटका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा सङ्घीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको अध्यक्ष हाङगामको भनाइ छ । मेरिङ्देन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थलका रूपमा यस ठाउँलाई लिइन्छ । यो सडक स्तरोन्नति भएसँगै यहाँका बासिन्दालाई यातायातको सहजता हुनेछ ।
b

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर