संसदीय समितिमा यसरी भएको थियो चर्काचर्की ! — OSNepal

संसदीय समितिमा यसरी भएको थियो चर्काचर्की !

LC (KTM) July 26, 2021 0

काठमाडौं । प्रतिनिधिसभा दोस्रो पल्ट पुनःस्थापना भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकको कार्यसूची विगतका निर्णयको समीक्षा गर्ने थियो । संसदीय समितिहरू विषयगत हुने भएकाले मुलतः यस्ता समितिमा विषयवस्तु केन्द्रित धारणा राखिन्छ । समितिका सदस्यहरू राजनीतिक पार्टीमार्फत जनप्रतिधि बनेर आएकाले राजनीतिबाट टाढा नहुने भए पनि उनीहरूले पनि आफूलाई विषय केन्द्रित गर्छन् । आजको बैठक पनि कार्यसूचीअनुसारकै विषय वस्तुमा छलफल भएर अघि बढ्दै थियो । यहीक्रममा बोल्ने समय पाए समिति सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उनले आफ्नो भनाइ राख्नेक्रममा शुरूमै संसद पुनःस्थापित भएकोमा आफूहरूको हृदय गदगद भएको भन्दै त्यसमा भूमिका खेल्ने सबैलाई धन्यावाद थिए । यसबाट संसद संविधान, लोकतन्त्रको रक्षा भएको र मुलुकको राजनीतिक स्थात्विको निम्तिमा एक पाइल अघि बढिएको टिप्पणी उनले गरे । नेता नेपालको यही भनाइबाटै विषयगत समितिमा राजनीतिक विषयको प्रवेश भयो ।

एमालेको संस्थापन पक्षका सांसद नारदमुनी रानाले नेपाल लक्षित गर्दै राजनीतिक टिप्पणी नै गरे । अहिलेको सरकार र संसद जनताले नभइ सर्वोच्चले बनाइदिएको भन्दै नेता नेपालप्रति खिसिट्युरी गर्ने भावमा उनी प्रस्तुत भए । त्यसपछि नेपाल पक्षकै सांसद दीपकप्रकाश भट्टले उनलाई ‘प्रतिगमनको मतियार’ भन्दै समितिमा बस्ने अधिकार नभएको बताए ।

त्यसपछि माधव नेपाल आक्रोशित हुँदै रानाप्रति कड्किए– प्रतिगमनको मतियार बन्ने, राजीनामा दिनुस्, निस्किनुस् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी पनि विवादमा मिसिए । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने भन्दै उनले पनि रानाविरुद्ध आक्रोश ओकले । सभापति पवित्रा निरौला खरेलले भने समिति राजनीतिक विवाद गर्ने थलो नभएको भन्दै विषयबस्तुमा केन्द्रित हुन भन्दै विवाद मत्थर पार्ने कोसिस गरिन् ।

यस्तो थियो विवाद
माधव नेपाल : संसद पुनःस्थापित भएकोमा हाम्रो हृदय गदगद भएको छ । त्यसमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएकोमा, साहसपूर्ण भूमिका खेल्नु भएकोमा म मान्य सदस्यहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु । यो कदमले प्रतिनिधिसभालाई जोगाएको छ, व्यवस्थापिकाको रक्षा गरेको छ । न्यायपालिका जोगाएको छ । कार्यपालिका जोगाएको छ । न्यायपालिकाको मर्यादा र सम्मानमा अभिवृद्धि गरेको छ । संविधानको रक्षा गरेको छ, लोकतन्त्रको रक्षा गरेको छ । र, मुलुकको राजनीतिक स्थायत्व निम्ति यसले एउटा राम्रो पाइला चालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर