महोत्तरी, ५ मङ्सिर । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ ।
कात्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा आज महोत्तरीका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।
पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाहाकारी खाना खाने परम्परा छ । अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण पण्डित महेशकुमार झाले बताए ।
पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिलको प्रतिक्रिया छ । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवाबजारका बासिन्दा शिवनारायण झाले बताए ।
पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माइस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकैका वनक्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीको भनाइ छ ।
मिथिलामा आज (कात्तिक शुक्ल नवमी) को दिनलाई कुष्माण्ड नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैंत्यलाई संहार गरेर कंश बध गर्नपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान विष्णु अमलाका रुखमा बस्ने हिन्दू मैथिल जनविश्वास छ । अक्षय नवमीका दिन भगवान विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल मान्यता छ ।
इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा. विमलले बताए । अमला