जुम्ला, १८ कात्तिक : छिमेकी जिल्ला जाजरकोटमा केन्द्रविन्द्र बनाएर गएराति गएको भूकम्पका कारण जुम्लामा पाँचजना सामान्य घाइते भएका छन् ।
स्थानीय प्रशासनको प्रारम्भिक जानकारीअनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ वर्षीया सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी–३ का १४ वर्षीय निराजन उपाध्याय, तिला–३ दानीवाडाका ११ वर्षीया सपना थापा र तातोपानी–४ का हरि बहादुर खत्रीको घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको छ ।
तिला गाउँपालिका–३, ५ र ९ का केही घर तथा विद्यालय चर्केका छन् भने चन्दननाथ नगरपालिका–८ निवासी विष्णु महतको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरहरु चर्किएका खबरहरु आएको स्थानीय तहका प्रमुख बताउँछन् ।
जिल्लामा भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । जिल्लाकोे यकिन तथ्याङ्कका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।