गलेश्वर ९म्याग्दी०, ३ कात्तिक ः उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरु पनि ।
केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध नसकिँदै लिङ्गे पिङ हालेर युवाहरु दसैँको तयारी गरिसक्थे । अहिले दसैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ, न त युवाहरु नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आ–आफ्नो काममा व्यस्त छन् । दसैँको रौनकले गाउँलाई छोएको छैन ।
पाँच सात वर्षअघि सम्म तीजसँगै दसँैको रौनक सुरु हुन्थ्यो । सोह्र श्राद्ध सकिने बित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटाबाटो सफा गर्ने काममा युवा नै कस्सिने गर्दथे । पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन म्याग्दीमा नै युवाहरु वैदेशिक रोजगार र परिवार बसाइँसराइ गरी सहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताउनुभयो ।
बेनी–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरुको सङ्ख्या बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ ।
एक वर्षमा सरदर ५० देखि ८० जनासम्म युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । अध्ययनका लागि जानेहरुको सङ्ख्या पनि उत्तिकै छ । त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेसतिर जानेहरु पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् ।
पाहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन् । असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र दसैँको रमाइलोले भन्दा पनि धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताउनुभयो ।
कामकाजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरु गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दसैँको रौनक नदेखिएको उहाँको भनाइ छ । घरमा कमेरो र रातो माटोले लिपपोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्नेमा राखेर लिपपोत गर्दै गर्दा दसँै आएको छुट्टै आनन्द हुन्थ्यो । दसँैका लागि भनेर खेतको कान्लामा घाँस साँच्ने गरिन्थ्यो ।
गाउँघरका युवादेखि बूढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चार लिङ्गो गाडेर पिङ बनाउने गाउँमा हराउँदै गएको छ । अहिले रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो । “विशेषगरी युवा पुस्ताले लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिले गाउँमा युवाहरु नै छैनन्, पाको पुस्तालाई फुर्सद पनि छैन, जाँगर पनि चल्दैन”, ५२ वर्षीय टेकबहादुर क्षेत्रीले भन्नुभयो ।
पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बूढापाकाहरु बताउँछन् । युवाहरु रोजगारीका लागि विदेश गएका छन् । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभावसमेत बढ्दै गएको छ । पिङ बनाउनका लागि बाबियो काटेर ल्याउने, लुठो बाट्ने र चारवटा बाँस गाड्न कम्तीमा आठ÷दशजना आवश्यक पर्दछन् ।
गाउँघरमा फाटफुट भएका युवाहरु पनि व्यवसाय र रोजगारमा हुनुले पनि लिङ्गे पिङ लोप हुँदै गएको फापरखेतका इन्द्रदत्त शर्माले बताउनुभयो ।
फेरिँदै छ ग्रामीण परिवेश
युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता तथा परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ ।
रातो माटो र कमेरोले पोतिएका घर गाउँमा देखिन छाडेका छन् । इनामेल र आयातित रङ्गले घर रङ्गीन थालेपछि गाउँका मड्किना गृहिणीहरुले बिर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ । सबै चीज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन ।
दसैँ नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चीजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । सहरदेखि गाउँसम्म आधुनिक घर बनाइएका छन् ।