म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन् — OSNepal

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्

LC (KTM) October 13, 2023 0

कञ्चनपुर, २६ असोज ः दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन ।

“म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन”, चौध वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी बसन्त धामीले भन्नुभयो, “नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।”

म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन् । “काम गर म्याद थप भइहाल्छ भन्छन, बिना तलब कति दिन काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “नगर प्रमुखलाई यसबारे अवगत गराउँदा आफूलाई यसबारे जानकारी नभएकाले कार्यालय प्रमुखलाई भन्नुपर्ने जवाफ दिएर उम्कन खोज्छन ।”

नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन् । “कोरोना महामारीका बेला बिना तलब तीन महिना बढी काम गरेका छौँ”, स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भन्नुभयो, “हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दसैँमा तलब नपाइदा निकै खल्लो महसुस गरिरहेका छौँ ।”

म्याद थप भएर तलब पठाएको सन्देश कुन बेला मोबाइलमा आउँछ भनेर पर्खेर बसेको उल्लेख गर्दै उहाँले म्याद थपको सम्झौता नभएकाले तलब नपाइने बताइएपछि निकै निरास भएको बताउनुभयो । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले करारमा तीन तरिकाले स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कर्मचारी भर्ना गरिएको बताउनुभयो ।

“केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्”, उहाँले भन्नुभयो, “केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन ।” उहाँका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट नियुक्त भएकालाई स्वास्थ्य चौकीमा उपलव्ध गराइने अनुदानबाट तलबको व्यवस्था गरिँदै आएको छ । वडाबाट नियुक्त भएकालाई वडाबाटै तलब दिइँदै आएको छ ।

करारमा कार्यत स्वास्थ्यकर्मीको म्याद थपका लागि केहीको सम्बन्धित कार्यालयबाट सिफारिस आए पनि केहीको अझै सिफारिस आउन नसक्दा तलब दिन नसकिएको उहाँको भनाइ रहेको छ । “नगरबाटै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको नियुक्ति पत्र दिनुपर्छ भनेर नगरपालिकामा पत्राचार गरेका छौँ”, वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “कार्यपालिका बैठकमा पनि सबैलाई एकै ठाउबाट नगरबाटै नियुक्ति दिनुपर्छ भनेर छलफल भएको हो, अहिले आएर करारमा कार्यरत स्वास्थ्यकर्मीलाई नियुक्ति नदिएर अन्यौलता सिजर्ना गर्ने कार्य हँुदैछ ।”

करारमा कार्यरत स्वास्थ्यकर्मीले तह गत रुपमा तलबको व्यवस्था नहुदा न्यून तलबमा कार्य गर्दै आएका छन । अहेव पदमा कार्यरतले रु १५ हजारदेखि रु १८ पाँच सय तलबमा कार्य गर्दै आएका छन । “खटाइएका काममा लगनशीलतका साथ काम गर्दै आएका छौँ”, स्वास्थ्यकर्मी दिलबहादुर धामीले भन्नुभयो, तलबमा विभेद गरिएको छ, करार सम्झौताको म्याद थप गरी तहगतरुपमा तलबको व्यवस्था गरिनुपर्छ ।” दसैँलगायतका चाडपर्व सहजरुपमा मनाउने वातावरण सृजना गरी म्याद थप गरी तलब उपलब्ध गराइनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर