दुई करोडमा २४ रोपनी जग्गा खरिद गरी तनहुँको म्याग्देमा ‘ल्याण्डफिल साइट’ निर्माण — OSNepal

दुई करोडमा २४ रोपनी जग्गा खरिद गरी तनहुँको म्याग्देमा ‘ल्याण्डफिल साइट’ निर्माण

LC (KTM) October 06, 2023 0

तनहुँ-: जिल्लाको म्याग्दे गाउँपालिका–२ स्थित बहपुरमा व्यवस्थित ‘ल्याण्डफिल साइट’ निर्माण गरिएको छ । सङ्घीय सरकारको रु दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ‘साइट’ निर्माण गरिएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष रु एक करोड ४० लाखको लागतमा ‘साइट’को निर्माण भइरहेको इञ्जिनीयर शिव ज्ञावलीले जानकारी दिनुभयो । “यस आवदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “जग्गा व्यवस्थापन, मार्ग निर्माण र ट्रस निर्माणलगायत कार्य तीव्र गतिमा भइरहेको छ ।”

उक्त स्थानमा ल्यान्डफिल साइट सञ्चालनमा ल्याएपछि छिमेकी पालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई व्यवस्थित गर्न सकिनेछ । कुहिने फोहरलाई प्राङ्गारिक मल बनाउने र नकुहिने वस्तुलाई पुनःप्रयोगमा ल्याउने गरी व्यवस्थित गर्न लागिएको हो ।

अन्य पालिकासँग सम्झौता गरी शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उक्त स्थानमा उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गरी सोही स्थानमा सुन्तला खेती गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

एकीकृत आवास कार्यक्रम

त्यसैगरी गाउँपालिकाले आर्थिक विपन्न वर्गलाई एकीकृत आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिने भएको छ । एउटै प्रकृतिका घर निर्माणका लागि रु एक करोड बजेट विनियोजन भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि कार्यविधि अन्तिम चरणमा पुगेकाले पारित हुने वित्तिकै प्रक्रियाअघि बढाइने उहाँले बताउनुभयो । वडाबाट सिफारिस भएर आएका निवेदन गाउँपालिका कार्यपालिकाको बैठकले निर्णय गरेपछि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर