जाजरकोट, १७ असोज : उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ ।
नलगाड नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालयबाट एउटै आयोजनाका लागि दोहोरो भुक्तानी लिएको पाइएपछि भौतिक पूर्वाधार विकास कार्यालयबाट लिइएको रकम उपभोक्ता समितिले फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताउनुभयो । उहाँका अनुसार उक्त सडकको डिपिआर नगरपालिकाले गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा उखाले–तल्लु सडक आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी दिइएको समाचार सार्वजनिक भएपछि दोहोरो भुक्तानी लिएको रकम समितिले फिर्ता गरेको प्रमुख यादवले बताउनुभयो । पूर्वाधार विकास कार्यालयबाट रू १२ लाख ८२ हजार सात सय २२ भुक्तानी लिइएको थियो । उक्त आयोजनाका लागि नगरपालिकाले रू १९ लाख ४० हजार भुक्तानी दिएको जनाएको छ ।
नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णुकुमारी मल्लले सम्झौता गरेका थिए । समितिको खातामा दुवै कार्यालयबाट गत असारमा रकम भुक्तानी भइसकेको थियो ।
नगरपालिकाको काम सम्पन्न भइसकेको छानबिनमा पुष्टि भएपछि पूर्वाधार कार्यालयबाट ‘डुप्लिकेशन’ भएको तथ्य पत्ता लागेको प्रमुख यादवले जानकारी दिनुभयो । “बढी भुक्तानी लिएको पाँच प्रतिशत धरौटी बाहेक रू १२ लाख ८२ हजार सात सय २२ मङ्गलवार कार्यालयको खातामा जम्मा भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत असारमा उखाले–तल्लु–हितानगाँउ जोड्ने सडक निर्माणका लागि दाहोरो रकम भुक्तानी लिएको सार्वजनिक भएको थियोे ।
“झुक्याएर डुप्लिकेशन गरी भुक्तानी लिने उपभोक्ता समितिलाई बोलाएर रकम जम्मा गर्न दबाब दियौँ । अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिइसकेको रकम फिर्ता गरेको हो”, यादवले भन्नुभयो, “ समितिलाई थप कारवाही के गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।”
एउटै आयोजनाका लागि दोहोरो भुक्तानी भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, वडाध्यक्षसहितको टोलीले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानिया समेतलाई झुक्याएको पाइएको यादवले जानकारी दिनुभयो ।