स्याङ्जा । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए । मजदुरी गरेर मात्रै सहर बजारमा पारिवारको जीविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न सुरु गरे ।
४२ वर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न सुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।
वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको ऊर्जाशील ४२ वर्ष खर्चेका नेपाली गत साता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्केका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए । जेनतेन परिवार चलाउँदै आएका पेमेको मृत्युुपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका–८ स्थित खेलमैदानको सार्वजनिक शौचालयमा काजकिरिया गर्दै आएका छन् ।
५ छोरा र २ छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, पढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमानको किरिया बेसेकी पवि भन्छिन्, ‘स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायीरूपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रोसमेत एक सहकारी संस्थाले भवन बनाउँदा भत्कायो ।’ ‘छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै,’ उनले भनिन्, ‘किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनुपरेको छ ।’राजधानी दैनिकबाट
१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाइ छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टिमबाट बंलादेशमा समेत सहभागी भइसकेकी थिइन् । आमा पविसँगै छोरी शान्त पनि सार्वजनिक शौचालयमा बुबाको किरियामा छिन् ।