ललितपुर, ६ साउन नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताउनुभयो । यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ ।
सङ्क्रमणकालीन न्याय छिटो दिन माग–दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको लामोसमय वितिसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न सकेको छैन ।शान्ति प्रक्रियाका धेरै काम पूरा भए पनि पीडितलाई न्याय दिने काम आफै पूरा हुनसकेको छैन । द्वन्द्वका पीडित पक्षले न्याय निरुपणको काम छिटो अगाडि बढाउन माग गरिरहेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सत्य निरुपण आयोग र न्यायका मुद्दा’ विषयक अन्तक्र्रियाका सहभागी द्वन्द्वपीडित तथा घाइतेहरुले छिटो न्यायका लागि आग्रह गरे ।
कर्णाली प्रदेशको आन्तारिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले पीडितलाई न्याय दिन ढिला भइरहेको र वर्तमान सरकारले तत्काल न्याय दिन पहल गर्नुपर्ने बताउनुभयो । सत्तापक्ष र विद्रोहीपक्ष अहिले सरकारमा रहेको अवस्थमा भएकाले पीडितलाई न्याय दिनुपर्ने वर्तमान सरकारकोे काँधमा रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार कर्णाली प्रदेशका तर्फबाट शहीद र घाइते परिवारलाई जीविकोपार्जनसम्बन्धी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि सहकार्य गरेर घाइतेको उपचार भइरहेको छ ।
अधिवक्ताद्धय गोविन्द बन्दी र एकराज भण्डारीले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा पीडितको अपनत्व हुनेगरी सर्वोच्च अदालतको फैसलाअनुसार ऐन संशोधन गरेर पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ । कार्यक्रममा सहभागी द्वन्द्वपीडितले न्याय पर्खाइ लामो भएको र छिटो न्याय दिने विषयमा राज्यले सोच्नुपर्ने र न्याय दिन राजनीतिक दल इमान्दार हुनुपर्ने धारणा राखेका थिए । म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले द्वन्द्वपीडितलाई न्याय दिन भइरहको प्रक्रिया र न्याय छिटो दिलाउन पहल गर्ने उद्देश्य साथ छलफलको आयोजना गरेको बनाउनुभयो ।(रासस)