बालुवाकै भरमा ५ जनाको परिवार पालेर गुजारा चलाउँदै बास्मती — OSNepal

बालुवाकै भरमा ५ जनाको परिवार पालेर गुजारा चलाउँदै बास्मती

LC (KTM) July 21, 2021 0

खलङ्गा, ६ साउन -चन्दननाथ नगरपालिका–१ की बास्मती कुलाल दैनिकजसो जवा नदीबाट बालुवा निकालिरहेको अवस्थामा भेटिन्छिन् । उहाँको काँधमा ५ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । उहाँले पाँच वर्षदेखि बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् ।

“म घरबाट एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु”, उहाँले भन्नुभयो, “परिवारको खर्च जोहो गर्न हाम्रो लागि नदीको बालुवा भरपर्दो आर्थिक स्रोत बनेको छ ।” चन्दननाथ नगरपालिका–१ की धनमाया कुवालको दैनिकी पनि नदीमा बालुवा निकालेर बित्छ । बालुवा सङ्कलन र बिक्री गरेको रकमले उहाँको पनि घरखर्च चल्ने गरेको छ ।

उहाँहरु मात्र होइन, चन्दननाथ नगरपालिकाका झण्डै दुई सय महिला जवा नदीको बालुवा निकालेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् । भरपर्दो रोजगारी नभएका र घरको आर्थिक अवस्था कमजोर भएका उहाँहरुलाई खोलाको बालुवाकै भर छ । चन्दननाथ नगरपालिका–१ की धनमाया कुलालले बालुवा निकाल्नुको विकल्प नभएको बताइन् । “बजारमा मजदूरी पाइँदैन”, उहाँले भन्नुभयो, “परिवारको खर्च धान्नै मुस्किल छ ।” बालुवा बिक्री गरेको पैसाले मात्र नपुग्दा ऋण लिएर गुजारा चलाउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । उहाँले दिनभर सङ्कलन गरेको बालुवाबाट रु ४÷५ सय कमाउँछिन् । “बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । एक दिनमा १५ बोरासम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा रु तीन हजारदेखि चार हजारसम्म कमाई हुने गरेका छ”, उहाँले भन्नुभयो, “एक टिप्पर बालुवा सङ्कलन गर्दा रु ५०० नदी किनारमा भएको जग्गाधनीलाई उपलब्ध गराउने गरिएको छ ।”

उहाँका अनुसार नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन् । नदी किनारमै रुपैयाँ दिन्छन् । बिहानको खाना धेरैजसो नदी किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न सकिने भएकाले यहाँका महिलाको बिहानै नदी किनारामा भीड लाग्ने गरेका छन् । विद्यालय जाने बालबालिकासमेत बालुवा सङ्कलनका लागि नदी किनारामा पुग्ने गरेको उहाँको भनाइ छ ।

विद्यालय बन्द भएकाले बालुवा निकाल्ने काम गरेको स्थानीयवासी उनिता कुलालले बताउनुभयो । “बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको छु”, उहाँले भन्नुभयो, “साउन महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ ।” यहाँका महिलाले जवा नदीमा खाली खुट्टा, नाङ्गो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छन् । नदीमा फ्याँकिएका सिसा, काँडा र ढुङ्गाले काट्ने डर हुन्छ । तर बालुवा सङ्कलन नगरी सुख पनि छैन ।

विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले यहाँको महिलाको रोजगारी जवा नदीले दिएको हो । नदीबाट निकालिएको बालुवा ठेकेदारले खरीद गरी ट्र्याक्टर र टिप्परमार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीयवासी बताउँछन् । जिल्लाको जवा नदी, तिला र हिमा नदीमा बालुवा सङ्कलन कार्य तीव्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर