मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालियो — OSNepal

मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालियो

LC (KTM) August 21, 2023 0

काठमाडौँ । मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको छ । नागपंचमीको अवसरमा भाद्र ४ गतेदेखि सुरु भएको लाखे नाच १६ दिनसम्म चल्ने मैतीदेवी युनाईटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए । संस्कृति बचाउने एक मात्र उदेश्यले संचालनमा ल्याइएको मैतीदेवीको लाखे नाचको भित्री कथा भने भिन्न छ । सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर अहिले आएर आजबाट संचालनमा आएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाई सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाईटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ । जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरि लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद्ध कृष्ण निरब शाही बताउँछन् । लामो समयदेखि स्थानीय स्ांस्कृति बचाउ अभियानमा सक्रिय रहेका शाहीका अनुसार लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुकुट पहिरिएर गरिने परम्परागत नृत्य हो ।

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ ।

कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाचको ठाउँ अनुसार आ आफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ ।

अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुक्याएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो भन्ने किंवदन्ती छ । खासमा लाखेले स्थानीयलाई अनाहकमा दिएको दुखपछि लाखेलाई वध गर्नुपर्नेसम्मको अवस्थामा स्थानीयहरु पुग्न बाध्य हुन्छन् । र पछि सोही सम्झनामा नागपंचमीको दिनदेखि कृष्णअष्टमीको दिनसम्म लाखे नाच नाच्ने परम्परा रही आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर