टक्सार (भोजपुर)- भोजपुरमा रहेको यशोधरा माध्यमिक विद्यालयमा अध्ययनरत मनिराज लुइँटेल अहिले सफल व्यवसायी जस्तै बन्नुभएको छ । लुइँटेल सोही विद्यालयमा बाली विज्ञान सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत हुनुहन्छ । विद्यालयमा अध्ययन मात्र नभएर पढ्दै कमाउँदै कार्यक्रम सुरु भएपछि विद्यार्थीमा उत्साह देखिएको विद्यालयका शिक्षक दीपेन्द्र श्रेष्ठले बताउनुभयो । विद्यालयमा हाल बाली विज्ञानतर्फ ६४ विद्यार्थी अध्ययनरत छन् । शिक्षकले कक्षामा अध्ययन गराएको विषय फिल्डमा अभ्यास गर्न सकिने भएकाले विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको बाली विज्ञान शिक्षक सुरजकुमार शाह रौनियारले बताउनुभयो ।
“विषयगत ज्ञान त विद्यार्थीमा हुन्थ्यो नै, तर विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएकाले विद्यार्थीमा उत्साह छ”, उहाँले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिल्ने छ ।” पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले मौरीपालन, माछापालन, तरकारी, खोर्सानी लगायतका खेती गर्दै आइरहेका छन् । अध्ययनसँगै बारीमा अभ्याससमेत गर्न पाएकोमा आफूहरूलाई थप ज्ञान मिलेको बाली विज्ञानअन्तर्गत कक्षा १२ मा अध्ययरत बिनिता राईको भनाइ छ । उहाँले, “सबै कार्यमा विद्यार्थी सामेल हुने भएकाले कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउन पनि सिकाएको छ ।”
भोजपुरका दुई सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा मावि र रामप्रसाद राई गाउँपालिका–३, भुल्केको पञ्चकन्या माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमका सञ्चालनमा रहेको छ ।
यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक धु्रवराज रेग्मीले भन्नुभयो, “भोजपुर जिल्लाका दुई विद्यालयमा कार्यक्रम सुरु भएको छ, तोकिएको मापदण्ड र कार्यविधिअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेकोमा त्यहाँकोे निर्देशक समितिको बैठकले भोजपुरका पनि दुई सामुदायिक विद्यालय छनोट गरेको थियो ।
विद्यार्थी आफैँले बारी खनेर विभिन्न खेती लगाउने गर्दै आएको बताउँदै प्रधानाध्यापक रेग्मीले पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्ने र सो कार्य पढ्दै कमाउँदै कार्यक्रमले पूरा गरेको बताउनुभयो । कार्यक्रमका लागि छनोट भएका विद्यालयमा बाली विज्ञानको पठनपाठन हुँदै आएको छ । सञ्चालनका लागि छनोटमा परेका विद्यालयलाई अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान हुनेछ । यो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्दे पढ्न र सिक्नका लागि थप प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद कार्कीले बताउनुभयो ।
‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेख गरिएको प्रक्रियाबमोजिम विद्यालयका लागि दुई किस्तामा बजेट उपलब्ध गराउने व्यवस्था छ । छनोटमा परेका विद्यालयलाई पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध हुनेछ । छनोटमा परेका विद्यालयलाई सःशर्त अनुदानअन्तर्गतको अनुदान रकम स्थानीय तहमार्फत विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था रहेको छ ।
कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ । कृषि (बाली विज्ञान–पशु विज्ञान–वागबानी), इञ्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ ।