महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर दुई वर्षदेखि टेकोका भरमा — OSNepal

महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर दुई वर्षदेखि टेकोका भरमा

LC (KTM) May 15, 2021 0

जलेश्वर, १ जेठ- शिव पुराणमा उल्लेख भएअनुसार स्वयं रुद्रद्वारा निर्मित महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर विगत दुई वर्षदेखि टेकोका भरमा टिकेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक एवं ऐतिहासिक सो बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठिक्क माथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको जलेश्वरनाथ महादेव मन्दिर समितिका अध्यक्ष अमरदीप साहले बताउनुभयो ।

उहाँले दुई वर्षपहिले २०७५ सालमा अचानक एक दिन बाबा मन्दिरको भित्रीभाग झुकेको देख्दा आफूले दुई फलामको टेको लगाइदिएको र सो मन्दिर अहिलेसम्म सोही टेकोका भरमा रहेको देखाउँदै बाबा मन्दिरको जीर्ण अवस्थालाई दर्शाउनुभयो ।

उहाँले आफूले यसबारे जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई जानकारी गराउनाका साथै पटकपटक बोलाएर अवलोकनसमेत गराइदिएको बताउनुभयो । यसका अलावा मन्दिर व्यवस्थापन समिति र नगरपालिकाको आग्रहमा विगत दुई वर्षमा पुरातत्व विभागबाट पनि चारपटक विज्ञ आएर मन्दिरको अवस्था हेरेर गएको भए पनि बाबा मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको अध्यक्ष साहले दुःखेसो पोख्नुभयो ।

जलेश्वरनाथको गुफासहितको भित्री मन्दिर कहिले र कसले बनाएका बारेमा कुनै तथ्य प्रमाण छैन भने बाहिरी विशाल विसं १९९५ मा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल्ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गर्नुभएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । सो महामन्दिर निर्माण गर्न त्यस बेलाको रु २५ हजार खर्च भएको थियो ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुको प्रयोग गरिएको थियो । मन्दिरको आफ्नो आम्दानीको कुनै पनि स्रोत नरहेको हुँदा जीर्ण तथा ढल्ने अवस्थामा पुगेको ऐतिहासिक बाबा जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मतसम्भार गरी संरक्षण, संवद्र्धन, व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न÷गराउन सम्बन्धित सबै सरोकारवालासँग मन्दिर परिवारका साथै बाबाप्रति आस्था राख्ने सबैले जोडदार माग गरेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर