काठमाडौं ५ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपलिका-९ पुरानो बानेश्वर ठेगाना भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठ रहेकी छन् ।
निजलाई प्रहरीले सोमबारपक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।