काठमाडौं । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ ।
त्यहाँ ३० वटा छुट्टै शय्याको व्यवस्था गरिएको छ । एनआइसियू कुरुवा बस्ने बेडमा नवजात शिशुका आमालाई बस्न सकस हुन्छ । एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले त्यहाँ बस्ने सुत्केरी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छन् ।
कुरुवा युवराज सापकोटा सुत्केरी महिला राख्ने शय्याभन्दा बाहिर बस्न थालेको एक साता भयो । भुइँमा समेत बस्न उहाँलाई कठिन छ । त्यहाँ बस्ने सबै ३० दिनभन्दा मुनिका सुत्केरी हुन् ।
उनीहरूलाई उडुस, उपियाँले टोकेर दुःख दिने गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली बिहीबार कान्ति बाल अस्पताल पुग्दा एनआइसियू्को कुरुवाघरमा रहेका अधिकांश महिलाको गुनासो थियो, “यहाँ बस्न र बाथरुम जान साह्रै मुस्किल रहेको छ ।” एकातिर उपियाँ उडुसले टोकेर हैरान गर्छ । अर्कोतिर बाथरुममा गयो, बस्न सक्ने अवस्था हुँदैन ।
यस विषयमा कान्ति बाल अस्पतालका निर्देशक डा। युवानिधि बसौलासँग बुझ्दा अस्पतालमा उपियाँ, उडुस परेको स्विकारे । “दुई साताअघि मात्र उपियाँ, उडुस हटाउनका लागि औषधीको प्रयोग गरिएको थियो,” उनले भने, “जति गरे पनि उपियाँ, उडुस हटाउन सकिएन ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
अस्पतालको एनआइसियूमा मात्र होइन ओपिडीमा समेत उपियाँ, उडुसले सताउने गरेको बताउँदै उहाँले एनआइसियू कुरुवा घर (तीस दिनभन्दा कम उमेरका) सुत्केरी बस्ने शय्या र ओपिडीमा उपियाँ र उडुसले दुःख दिएको जानकारी दिए ।