वडाबाट नुन वितरण हुँदा जुम्लाका नागरिकलाई राहत — OSNepal

वडाबाट नुन वितरण हुँदा जुम्लाका नागरिकलाई राहत

LC (KTM) July 29, 2023 0

जुम्ला-जुम्लाका स्थानीय तहले वडाबाटै नुन वितरणको थालनी सुरु गरेसँगै यहाँका स्थानीयवासीलाई राहत मिलेको छ । गत असार ३१ गते साल्ट ट्रेडिङ कार्यालयको मुख्य डिपोमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण सुरु गरिएको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो । साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका छन् । जिल्लाको तातोपानी गाउँपालिका–२ ले वडाबाटै नुन वितरण गरेको वडाध्यक्ष चन्द्रमान बुढाले बताउनुभयो । वडाबाटै प्रतिघरधुरीलाई तीन÷तीन केजीका दरले नुन वितरण गरिएको छ । साल्ट ट्रेडिङ कार्यालयबाट १५ क्विन्टल नुन वडामै ल्याएर स्थानीयवासीलाई वितरण गरिएको वडाध्यक्ष बुढाको भनाइ छ ।

कार्यालयले अहिले धमाधम वडा कार्यालयलाई एकीकृतरूपमा नुन वितरण गर्न थालेको छ । तातोपानी गाउँपालिकाको १ देखि ७ वडा, चन्दननाथको १, ७, ८ र ९ र गुठीचौरको वडा नं २ र ४ मा नुन एकीकृतरूपमा वडाको मागअनुसार प्रतिघरधुरीलाई तीन प्याकेट पर्ने गरी वडालाई नुन पठाइसकेका छौँ । करिब तीन सय क्विन्टल नुन डिपोबाट स्थानीय तहका वडालाई वितरण गरिएको कार्यालय प्रमुख खगेन्द्र मल्लको भनाइ छ ।

कार्यालयका अनुसार तातोपानी वडा नं १ मा २१ क्विन्टल, २ मा १५ क्विन्टल, ३ मा १५ क्विन्टल, ४ मा २० क्विन्टल, ५ मा साढे १७ क्विन्टल, ६ मा साढे १२ क्विन्टल र वडा नं ७ मा साढे २२ क्विन्टल नुन वितरण गरिएको छ ।

चन्दननाथ नगरपालिका वडा नं १ मा २५ क्विन्टल, वडा नं ७ मा ३५ क्विन्टल, वडा नं ८ मा २० क्विन्टल र वडा नं ९ मा २५ क्विन्टल, गुठीचौर गाउँपालिकाको वडा नंं १ लाई २५ क्विन्टल वडा नं ४ लाई ३० क्विन्टल नुन दिइएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अहिले पनि नागरिकले नुनका लागि भीडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट वितरण गर्न निर्देशन गरेअनुसार वडाबाट वितरण सुरु भएको जानकारी दिनुभयो । कार्यालयले वडाको मागअनुसार अहिले वडालाई धमाधम नुन वितरण गरेको हो । सिञ्जा क्षेत्रको नराकोट डिपोबाट नुन वितरण भइरहेको छ । यहाँका नागरिकलाई घरमै डिपो कार्यालय सञ्चालनमा आएकामा सहज भएको सिञ्जाका स्थानीयवासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर