काठमाडौं । मुलुकभर डेंगु संक्रमणदर बढ्दै जानथालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले ६९ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । इडिसिडीका अनुसार जनवरीदेखि जुलाइसम्म सात महिनामा डेंगुबाट सात जनाको मृत्यु भइसकेको छ भने ४ हजार २ सय ८९ जना संक्रमित भइसकेका छन् ।
संक्रमित संख्या अझै बढ्नसक्ने संकेत देखिएको छ । तर, रोकथामका लागि पूर्वसतर्कता अपनाएको भने पाइँदैन । गत वर्ष जुलाई महिनापछि डेंगुबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको थियो । अहिले पनि सतर्कता नअपनाए डेंगु बढ्नसक्ने चिकित्सकहरूको भनाइ छ ।
हालसम्म सबैभन्दा बढी कोसी प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । कोसी प्रदेशमा मात्रै हालसम्म २ हजार ४ सय ५७ जना संक्रमित भएका छन् ।
त्यस्तै, दोस्रोमा बाग्मती प्रदेशमा ६ सय ६७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ३ सय ४४ जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
त्यस्तै, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा संक्रमितको संख्या २० जना रहेका छन् ।