काठमाडौँ-सङ्गीतसम्बद्ध सात संस्थाले सङ्गीतकार सुरेश अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन् ।गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी सङ्कलन समाजले आज संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीविरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
ती सङ्घ/संस्थाले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै खेदसमेत प्रकट गरेका छन् । ती संस्थाले यही साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक सङ्घले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । प्रतिबन्धको निर्णयलाई फिर्ता नलिए स्रष्टा र कलाकारका साङ्गीतिक सिर्जनाको प्रसारण रोक्न बाध्य हुने सङ्घ/संस्थाको भनाइ छ ।