‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल — OSNepal

‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल

LC (KTM) July 23, 2023 0

काठमाडौँ-अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ ।अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा सुमित सिंहको पहलमा काठमाडौँको नख्खुमा सो उक्त अस्पताल स्थापना गर्न लागिएको   आयोजित एक कार्यक्रममा जानकारी दिइयो । आगामी डेढ वर्षमा सो अस्पताल स्थापना हुनेछ ।

क्रेनियोफेसियल सर्जन प्रा डा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा सञ्चालन हुने यस अस्पतालमार्फत मानिसको अनुहारमा हुने खुँडोपन, चोटपटक या दुर्घटनाबाट अनुहार कुच्चिएको या बिग्रिएको र अन्य समस्याको पनि उपचार हुनेछ ।

सो अस्पतालको स्थापना नहुँदासम्म एकद्वार उपचार केन्द्रका रूपमा वसुन्धरामा रहेको कान्तिपुर डेन्टल जनरल अस्पतालबाट सो सेवाको सुरुआत गरिएको छ । क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका विभिन्न मुलुकहरूमा पनि सञ्चालनमा ल्याएको छ ।

नेपालका विपन्न नागरिकलाई निःशुल्करूपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलोपटक उक्त अस्पताल स्थापना हुन लागेको क्रेनियोफेसियल सर्जन डा सिंहले जानकारी दिनुभयो । सो कार्यक्रममा डा सिंहले नेपालमा हरेक आठ सयमध्ये एक जनामा खुँडोपन तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको जानकारी गराउनुभयो ।

डा सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष पाँच सय जनालाई निःशुल्क सेवा दिने र अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार पाँच सय जनालाई निःशुल्क सेवा दिने लिक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर