जापानबाट निसानका पूर्वप्रमुखलाई भगाएको अभियोगमा अमेरिकी बाबुछोरालाई जेल सजाय — OSNepal

जापानबाट निसानका पूर्वप्रमुखलाई भगाएको अभियोगमा अमेरिकी बाबुछोरालाई जेल सजाय

LC (KTM) July 19, 2021 0

टोकियो, ४ साउन- जापानी कार कम्पनी निसानका पूर्वप्रमुखलाई जापानबाट भाग्न सघाएको अभियोगमा अमेरिकीलाई जेल सजाय तोकिएको छ ।निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकीलाई दोषी ठहर गरेको हो । उनीहरू बाबुछोरा भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टोकियो अदालतले अमेरिकी विशेष बलका भूतपूर्व सैनिक ६० बर्षीय माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उहाँका छोरा पिटरलाई अठार महिना जेल सजाय सुनाएको छ । जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए ।

जापानमा कुनै पनि मुद्दामा आरोपितलाई हिरासतबाट उम्किन सघाउने व्यक्तिलाई कम्तीमा तीन बर्ष जेल सजाय हुनेगर्छ ।अमेरिकी बाबुछोरा दुबैलाई जापानमा मुद्दा परेका गोनलाई एउटा सामान राख्ने बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेका यी दुई जनालाई अमेरिकाले जापानसमक्ष सुपुर्दगी गरेको थियो ।

डिसेम्बर २०१९ मा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरामाथि लागेको थियो । त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको छ । दुबै व्यक्तिले अभियोग स्वीकार गरेका र आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका बताइएको छ ।

माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए।आर्थिक अनियमिततासम्बन्धी आरोपमा निसान कम्पनीका पूर्व प्रमुख गोन पहिलो पटक नोभेम्बर २०१८ मा पक्राउ परेका थिए । सन् २०१५ सम्म पाँच वर्ष आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर